काठमाडौं, असार ११, देशका छ महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गरेका छन्। महानगरहरूले भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, सूचना प्रविधि तथा सुशासनलाई प्राथमिकतामा राख्दै बजेट ल्याएका हुन्।
काठमाडौं महानगरपालिकाले सबैभन्दा ठूलो बजेट सार्वजनिक गरेको छ। महानगरले २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्तुत गर्दै सडक, ढल, हरियाली प्रवर्द्धन, विद्यालय सुधार, सम्पदा संरक्षण तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकता दिएको जनाएको छ।
त्यसैगरी, ललितपुर महानगरपालिकाले ७ अर्ब ४८ करोड रुपैयाँ, पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड रुपैयाँ, भरतपुर महानगरपालिकाले ५ अर्ब ५१ करोड रुपैयाँ, वीरगञ्ज महानगरपालिकाले ४ अर्ब ४२ करोड रुपैयाँ तथा विराटनगर महानगरपालिकाले ३ अर्ब ५६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्।
महानगरपालिकाहरूले आन्तरिक आम्दानी वृद्धि गर्दै विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउने तथा नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको बताएका छन्।नयाँ बजेट आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।


