काठमाडौं, असार १७। जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार मनसुनी वायुको प्रभावका कारण विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग मा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
विभागले भारी वर्षाका कारण नदी, खोला तथा खोल्सामा पानीको सतह अचानक बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा तराईका केही स्थानमा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
विशेषगरी नदी किनार, पहिरोको उच्च जोखिम भएका बस्ती तथा राजमार्ग प्रयोग गर्दा सावधानी अपनाउन भनिएको छ । मौसमविद्का अनुसार आज रातिसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने केही स्थानमा भारी वर्षा हुन सक्छ।
विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई पनि आवश्यक तयारी अवस्थामा रहन विभागले अनुरोध गरेको छ। मनसुन सक्रिय रहेकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न विभागले अनुरोध गरेको छ।


