काठमाडौं, असार १५। भारतले नेपालबाट निर्यात हुने चियामा लागू गरिएको कडा गुणस्तर परीक्षण (Quality Inspection) सम्बन्धी नियम खुकुलो बनाएपछि नेपाली चिया उद्योगले ठूलो राहत पाएको छ।
भारतको Food Safety and Standards Authority of India (FSSAI) ले नयाँ व्यवस्था लागू गर्दै अब हरेक चिया खेपको अनिवार्य परीक्षण गर्नु नपर्ने निर्णय गरेको हो।यसअघि भारतले नेपालबाट आयात हुने प्रत्येक चिया खेपको प्रयोगशालामा गुणस्तर परीक्षण अनिवार्य गरेपछि सीमामा ठूलो परिमाणमा चिया रोकिएको थियो।
यसका कारण इलाम, झापा लगायत पूर्वी नेपालका दर्जनौँ चिया उद्योग प्रभावित भएका थिए भने किसानले हरियो चियापत्ती बिक्री गर्न कठिनाइ भोग्नुपरेको थियो। नयाँ व्यवस्थाअनुसार अब प्रत्येक खेपको सट्टा पाँच खेपमध्ये एक खेप को मात्र नमुना परीक्षण गरिनेछ।
यसले सीमा नाकामा हुने ढिलाइ घट्ने, निर्यात प्रक्रिया सहज हुने र उद्योगको लागत कम हुने अपेक्षा गरिएको छ।भारतको निर्णयसँगै केही समयदेखि बन्द भएका इलामको सूर्योदय नगरपालिकाका ५३ वटा चिया उद्योगले पुनः सञ्चालन सुरु गरेका छन्। उद्योग सञ्चालनमा फर्किएपछि किसानले हरियो चियापत्ती बिक्री गर्न पाउने र चिया उत्पादन तथा निर्यात फेरि सामान्य अवस्थामा फर्किने विश्वास गरिएको छ।
नेपालको अर्थतन्त्रमा चिया महत्वपूर्ण नगदे बालीका रूपमा रहेको छ। विशेषगरी अर्थोडक्स चियाको ठूलो हिस्सा भारत हुँदै अन्य अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले भारतको यो निर्णयलाई नेपाली चिया व्यवसायी, किसान तथा निर्यातकर्ताका लागि सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ। सरकारले पनि भारतसँगको समन्वय र कूटनीतिक पहलका कारण समस्या समाधानतर्फ अघि बढेको जनाएको छ।


